स्रोत: कान्तिपुर
-सुरेन्द्र सुवेदी
संखुवासभा। चीन सरकारले पहिलोपटक नेपालको सीमा किमाथांकासँगै आफ्नो देशको लालसेनाको क्याम्प स्थापना गरेको छ । करिब ६ सयको संख्यामा रहेका चीनका सेनाले नेपालको भूभाग समेत प्रयोग गर्दै कडा निगरानी गरिरहेका छन् । चीनको डेन्दाङमा मुख्य क्याम्प राखेर नेपाल–चीन सीमाको कामुखोला, चाँगा, अरुणनदी, सादाङसमेत १२ बढी स्थानमा लालसेनाले २४ घन्टे निगरानी गरिरहेको संखुवासभा प्रशासनले जनाएको छ । निमित्त प्रजिअ राजेन्द्र सिग्देल भन्छन्, ‘नेपालमा दलाई लामापक्षधरले चीनविरोधी क्रियाकलाप बढाएपछि त्यसलाई नियन्त्रण गर्न लालसेनाको क्याम्प राखेको जानकारीमा आएको छ ।‘
प्रहरी प्रमुख पोषराज पोख्रेल काठमाडौंका केही स्थानमा चीन विरोधी क्रियाकलाप बढेपछि लालसेना राखेको बुझ्नमा आएको बताउँछन् । सीमामा खटिएको नेपाल प्रहरीका करिब दर्जन अधिकृत र जवानले चिनियाँ सेनाको गतिविधिबारे निरन्तर जिल्लामा खबर गरिरहेको उनले बताए ।
सीमावर्ती डेन्दाङमा यसअघि ३५ जना चिनियाँ प्रहरीमात्र थिए । स्थानीय बासिन्दाका अनुसार चिनियाँ सेना १२ स्थानमा अत्याधुनिक हतियारसहित कडा निगरानी गर्दै आएका छन् । तिब्बत मूलका संखुवासभाका करिब ५ सय युवा दलाई लामाको सुरक्षार्थ खटिएका सेना छन् ।
बर्सेनि दर्जनभन्दा बढीको संख्यामा तिब्बतियन भाषा बुझ्ने किमाथांका, हटिया, पावाखोला, चेपुवाका सिङसा, नावा र ल्होमी जातिका भोटेलाई छानीछानी लामाको सेनामा लाने गरिएको छ । यही आधारमा लामाले चीनविरोधी गतिविधि गर्न नसकून् भन्दै लालसेना राखेको हुन सक्ने संखुवासभाका सभासद डम्बरबहादुर खड्का बताउँछन् । सीमामा स्थापना भएको लालसेनाले नेपालीलाई अति नै कडाइका साथमात्र डेन्दाङ प्रवेश गर्न दिन्छ । बिहान १० बजेबाट अपराह्न ४ बजेपछि चीनमा प्रवेश रोकिएको छ ।
Leave a Reply