स्रोत: नयाँ पत्रिका
–डा. सुधांशु केसी
धारामा पानी नआउने, लोडसेडिङबाट ग्रसित काठमाडौंवासीहरू सदाझैं सरकारको भन्दा बढी वर्षाको मुख ताकिरहेका छन् । काठमाडौंवासीहरू अहिले वर्षाको आगमनले हर्षित भएका छन् । तर, वर्षाको आगमनसँगै विभिन्न रोग पनि देखा पर्छन् । विशेष गरी झाडापखाला, टाइफाइड, भाइरल-हेपाटाइटिस आदि । वर्षायामको आगमनसहित हाम्रो हस्पिटलमा जन्डिस भएर आउने बिरामी बढ्न थाल्छन् । वर्षाको आगमनसँगै फैलिने जन्डिस ‘फोहर’ पानीबाट सर्ने हेपाटाइटिस ‘ई‘ को कारणले हुने संभावना बढी छ ।
कसरी सर्छ?
यस रोगका जिवाणुहरू दूषित खानेकुरा अथवा पानीबाट सर्छन् । जिवाणुहरू संक्रमित व्यक्तिको दिशामा पाइन्छ । उक्त जिवाणुहरू पानीमा मिसिएर हाम्रो शरीरभित्र पस्छन् । चर्पी गइसकेपछि साबुन-पानीले हात नधोएमा पनि उक्त हातबाट खाना अथवा पानी संक्रमित हुन सक्छ । बिग्रिएका ढलसँगै रहेका पानीका पाइपहरू, अपर्याप्त शुद्धीकरणका प्रक्रियाहरू आदि यसका मुख्य कारण हुन् । एउटै कोठामा सँगै बस्नाले यो रोग सर्दैन । हाम्रो परिप्रेक्षमा १५ वर्ष र सोभन्दा माथिकालाई हेपाटाइटिस ‘ई‘ ले संक्रमण गरेको पाइएको छ ।
लक्षणहरु
यो रोग लागेपछि खान मन नलाग्ने, पेट दुख्ने, वाकवाक लाग्ने र कहिलेकाहीँ बान्ता पनि हुने गर्छ । कुनै पनि खानाप्रति चाह हुँदैन । चुरोटको अम्मलीले चुरोट खान छोड्ने अवस्था आउन सक्छ । यी लक्षणसँगै बिस्तारै आँखा पहेँलो हुँदै जान्छ । यस अवस्थालाई जन्डिस भनिन्छ । तसर्थ जन्डिस रोग नभएर रोगको लक्षण मात्र हो । आँखाको पहेँलोसँग पिसाबको रंग पनि गाढा हुँदै जान्छ । कोही-कोहीलाई सामान्य ज्वरो आउने, शरीर दुख्ने पनि हुन सक्छ । केही प्रतिशत बिरामीमा यस रोगको कारणले गर्दा चिलाउने समस्या आउन सक्छ । ज्वरो, जन्डिस र चिलाउने समस्या साधारणतया पित्तथैलीमा ढुंगा भएमा देखिने समस्या भएकाले उक्त रोगसँग झुक्किन सक्छ । साधारण अवस्थामा यस रोगले दस हजारजनामा ५-६ जनालाई बेहोसीको अवस्थासम्म पुर्याउन सक्छ र तिनीहरूमा मृत्युको संभावना बढ्छ । उपचार ठीक समयमा नभएमा यस रोगले गर्भवती महिलालाई बढी असर गर्छ । गर्भको अन्तिम महिनातिर यो रोग लागेमा १५-४० प्रतिशत महिलाको मृत्यु हुन सक्छ । समयमा सही उपचार पाएमा यसबाट बचाउन सकिन्छ । हेपाटाइटिस बी र सीजस्तै यसले कलेजोको दीर्घकालीन रोगहरू गर्दैन ।
निदान
रोगका लक्षणहरूबाट यस रोगको करिब-करिब निदान हुन्छ । बिरामीको जाँच गर्दा आँखाको सेतो भाग पहेँलो देखिने, कलेजोको सामान्य सुजन र पेटको माथिल्लो भागमा दुखाइ हुन सक्छ । खानाको अरुचिले गर्दा कमजोर देखिने र कोही-कोहीमा कन्याएको दाग देख्न सकिन्छ । तर, यससँगै रगतको जाँच र अल्ट्रासाउन्ड पनि गराउन जरुरी हुन्छ । यसो गरेमा रोगको किटान गर्न सकिन्छ । रगतको जाँचमा Live Function Test गर्न जरुरी हुन्छ । Bilirubin मात्रै जाँच्नाले रोगको प्रकृति र गहनता थाहा हुँदैन । Bilirubin धेरै रोगमा बढ्ने भएकाले यसको रोगको निदानमा सहयोग पटक्कै गर्दैन । साधारणतया Bilirubin ५-१० मिग्रा/१०० एमएल हुन्छ, तर अवस्था हेरी २५-३० सम्म पनि पुग्छ । रगतमा एलानिन ट्रान्सएमाइनेज र एसपार्टेट ट्रान्सएमाइनेज ५-१० गुणा बढ्छन् । चिलाउने लक्षण भएमा बिरामीमा अल्कालाइन फोसफेटेज बढी हुन्छ । पेटको अल्ट्रासाउन्डमा कलेजो र फियोको सुजन देख्न सकिन्छ । पित्तथैलीवरिपरि सामान्य पानी देखिने, खुम्चिने (खाली पेटमा पनि) र पित्त बाक्लो भएको देखिन सक्छ । रगतमा “HEV IgM” भेटिएमा यस रोगको किटानसाथ निदान गर्न सकिन्छ ।
उपचार
यो रोग आफैं ठीक हुने भएकाले जिवाणुका लागि कुनै उपचार चाहिँदैन । यस रोगमा रोगका कारक तत्त्व जिवाणुको कुनै उपचार गर्नु पर्दैन । सामान्य अवस्थामा यस्तो लक्षण २-३ हप्तासम्म रहन सक्छ भने रोगको अवधि ३५-५५ दिन हुन्छ । रोगका जीवाणुहरू शरीरबाट आफैं बाहिरिन्छन् । औषधीको प्रयोग केवल लक्षणहरूका लागि मात्र गरिन्छ । राम्रो खाना नै यसको उपचार हो । कलेजोको सुजन भएको अवस्थामा अप्रशोधित औषधी सेवन गर्नाले कलेजोमा जम्मा भएर अरू क्षति गर्न सक्छ । नाकमा हाल्ने औषधीले Bilirubin केही मात्रामा घटाउन सक्छ, तर त्यसले रोगको उपचार हुँदैन । मुटु र मिर्गौला रोगीमा यो प्राणघातक हुन सक्छ । कलेजोको रोग भएको कारणले कार्बोहाइड्रेट बढी भएको र चिल्लो कम भएको खाना खानुपर्ने हुन्छ । तर, उमालेको, नून, बेसार नहालेको खाना भने खानुपर्दैन । जन्डिसको पर्याय बनेको गाँजर, मुला, काँक्रो आदि खानाले शरीरमा पोषण नपुगेर साह्रै कमजोर बनाउन सक्छ । बेमौसममा मेवा खोज्दा आर्थिक भार पर्ने र सफासँग तयार नगरेको उखुको रसले झाडापखाला तथा अरू रोग निम्त्याउन सक्छ । सुतिरहने बिरामीले अत्यधिक ग्लुकोज सेवन गर्नाले पेटमा वायु भरिने, खानामा अरुचि हुने गर्छ । उखुको रस र ग्लुकोजको सट्टा दुई सय ५० ग्राम चिनी एक लिटर पानीमा घोलेर दिनभरिमा खाँदा राम्रो हुन्छ । यसले ग्लुकोज र उखुको रसको काम लिन सकिन्छ । यस अवस्थामा कुनै पनि गुलियो फलफूल चाहेजति खान सकिन्छ । दूध,–दहीले कुनै नोक्सान गर्दैन । शुरुका केही दिन माछा-मासु नखाए हुन्छ, तर महिनौं बार्ने कुरा गलत हो । रक्सी तथा रक्सीजन्य पदार्थ सेवन बिलकुल गर्न हुँदैन । अत्यधिक बान्ताको कारणले खान असमर्थ भएमा, अरू रोगसँगै यो रोग लागेमा धेरै ज्वरो आएमा, र गर्भावस्थाको अन्तिम महिनातिर बिरामीलाई भर्ना गरी उपचार गर्नुपर्छ । कलेजोको पुरानो रोग भएका बिरामीलाई यो रोग लागेमा चाँडो कलेजो बिग्रने भएकाले यस अवस्थामा पनि भर्नाको जरुरी हुन सक्छ ।
बचावट
सरसफाईमा ध्यान दिनाले यस रोगबाट बच्न सकिन्छ । चर्पीको प्रयोगपछि साबुन-पानीले हात धुनुपर्छ । यस रोगका जीवाणु दूषित पानी र खानेकुराबाट सर्ने भएकाले र पर्याप्त तापमा जीवाणु नष्ट हुने भएका हुनाले राम्ररी पकाएको खानेकुरा खानुपर्छ । पानी शुद्धीकरण गरेर पिउँदा राम्रो हुन्छ । उमालेर चिसो बनाइएको पानी पिउँदा सबैभन्दा बेस हुन्छ । धोएका भाँडालाई सुख्खा पारिसकेपछि मात्र त्यसमा खाना खाने अथवा पानी खन्याउने गर्नुपर्छ ।
लिभर-टनिक
जन्डिस भएका बिरामीहरूबीच लिभर टनिक प्रख्यात हुने गरेको पाइन्छ । आधुनिक चिकित्सा पद्घतिमा यस्तो कुनै औषधीको उल्लेख पाइँदैन । वैकल्पिक उपचार पद्घतिमा मात्र यसको प्रयोग हुने गरेको छ । सबै किसिमका जन्डिसमा प्रयोग हुनाले यसको उपयोगितामा शंका गर्ने ठाउँ प्रशस्त छ ।
Leave a Reply