स्रोत: कान्तिपुर
-कास
काठमाडौं। अमेरिकाका लागि प्रस्तावित राजदूत डा. सुकदेव साहले आफूसँग अमेरिकी ग्रिनकार्ड रहेको स्वीकार गरेका छन् । उनले अमेरिकाको हवाई विश्वविद्यालयबाट सन् १९७३ मा पीएचडी गरी ३० वर्षसम्म अन्तर्राष्ट्रिय मुद्रा कोषमा जागिर खाएका थिए ।
संसदीय सुनुवाइ विशेष समितिमा मंगलबार आफूमाथि लागेका उजुरीमा स्पष्टीकरण दिँदै उनले भने, ‘मुद्रा कोषको कूटनीतिक पासपोर्ट नरहेपछि फिजी-अमेरिका आवतजावत सजिलो होस् भनी अमेरिकी गि्रनकार्ड लिएको हुँ। तर अमेरिकाको नागरिक हुने सोचाइले होइन ।‘ मुद्राकोषबाट अवकाश पाएपछि उनी फिजीमा प्राध्यापन गर्न गएका थिए ।
साह विरुद्ध एक घरेलु कामदारमाथि श्रम शोषण गरेको, अमेरिकी ग्रिनकार्ड लिएको, चार दशकभन्दा लामो समय विदेश बसेर आफ्नो मुलुकप्रतिको अभिभारा पूरा नगरेको लगायतका उजुरीमाथि दुई घन्टा लामो स्पष्टीकरण दिँदै साहले ‘आजको ग्लोबल युगमा विश्वका जुनै भागमा बसेर पनि जन्मभूमिप्रति सेवा र सम्झना गर्न सकिने‘ जवाफ दिए ।
उनले आफू राजदूत नियुक्त भएमा व्यक्तिगत फाइदा १० प्रतिशतमात्रै भए पनि बाँकी ९० प्रतिशत सिंगो देश र देशका जनतालाई लाभ हुने लिखित प्रतिबद्धता जनाएका थिए । उनी मधेसी जनअधिकार फोरमको कोटाबाट राजदूत प्रस्ताव गरिएका हुन् ।
‘मैले सन् १९८८ मा एक बालविधवा संगीता सत्याललाई वासिङ्टन डीसी स्थित आफ्नो निवासमा घरेलु कामदारका रूपमा लगेको थिएँ, उनको मासिक तलब हामी दम्पतीले आफ्नै खातामा राखिदिने सहमति भएको थियो,’ साहले श्रमशोषणको उजुरीमा भने, ‘एकपटक म अन्तर्राष्ट्रिय मुद्रा कोषको काममा देशबाहिर गएको बेला संगीताले घरबाट केही पैसा, गरगहना चोरेर भागिछन् । उल्टै भर्जिनिया अदालतमा गएर तलब नदिई हामीले काम लगाएको उजुरी गरिछन् ।‘ पछि अदालतबाहिर आपसी सहमतिमा मुद्दा मिलाएको उनले बताए ।
आफ्नो काठमाडौंस्थित ठूलाबडा नेता र प्रबुद्ध समुदायसँग राम्रो सम्बन्ध रहेको समेत साहले दोहोर्याए तर पूर्वप्रधानमन्त्री देउवाको नाम ‘देरबहादुर‘ भनेपछि तत्कालै समिति सदस्य सभासद महेन्द्र पासवानले आपत्ति जनाएका थिए । ‘तपाईं ४० वर्ष अघिको नेपाली नागरिक हुनुहुन्छ, अहिलेको होइन,’ पासवानले भने, ‘तपाईं आफ्नो मुलुकका एक प्रधानमन्त्रीको नाम भन्न सक्नुहुन्न भने के नेपाली ?’ त्यसपछि साहले क्षमायाचना मागेका थिए ।
‘मलाई अमेरिकी नागरिकताको मोह भएको भए म ३०/३५ वर्षअघि अमेरिका वा फिजी अथवा मंगोलियाको नागरिक बनिसक्ने थिएँ,’ ६७ वर्षीय साहले समितिका सभासद माझ आफ्नो नागरिकता र पासपोर्ट देखाउँदै दोहोर्याए, ‘म विगत ४० वर्षमा ५० पटकजति नेपाल आएको छु र ८ वटा नेपाली पासपोर्टको म्याद बिताएको छु ।‘
Leave a Reply