स्रोत: कान्तिपुर
–कृष्ण आचार्य
गोरखा। जंगलमा जीवन कष्टकर भएपछि शहर पसेका यहाँको कुसुन्डाको परिवार झन् बिचल्लीमा परेको छ । सरकारले लोपोन्मुख जातिमा राखेको कुसुन्डाको सात सदस्यीय परिवार गोरखा नगरपालिका तेह्र किलोमा १८ वर्षदेखि कोठा भाडामा बस्दै आएको छ ।
तनहँमा मात्र रहेको बताइएको कुसुन्डा जाति यहाँ पनि फेला परेको हो । मासिक चार सय भाडा तिरेर कोठामा बस्दै आएको उक्त परिवारकी सुमित्रा कुसुन्डाले बताइन् ।
गोरखाको ठाँटीपोखरी, थानसिङ, खोप्लाङ, सातदोबाटो लगायतका जंगल हुँदै यस ठाउँमा बसेको ६९ वर्षीया सुमित्रा बताउँछिन् । उनका अनुसार जंगल बस्ने क्रममा १२ जनाको समूह एकैचोटि मरेपछि चेतबहादुरको समूह भागेर सहर पसेको हो । आफूहरू सोही समूहको भएको उनले कान्तिपुरसँगको कुराकानीमा बताइन् ।
जंगलमा मर्ने डरले सहरतिर पस्दा झन् समस्यामा परेको कुसुन्डा परिवारको दुःखेसो छ । ‘छोरो एक पटक विदेश गएर आउँदा दुई लाख ऋण लाग्यो, काममा पनि ठगी भएछ,’ सुमित्राले भनिन्, ‘अरू जिल्लाका कुसुन्डालाई सुत्केरी हुँदासमेत भत्ता दिएको छ, हामीले पहिलोपटक यसै वर्ष पाँच सयमात्र पायौं ।‘ उनीहरूले मेलापात र दैनिक रूपमा रक्सी पारेर जीवन बिताउँदै आएको उनीहरूले बताए ।
जंगलमा भुसुना, मच्छड र जनावरको आक्रमणमा परेको सम्झना सुनाउँदै सुमित्राले भनिन्, ‘जतिसुकै पैसा दिउन् वा महलमै लगेर राखुन् यस जिल्ला छाडेर कहीँ जाँदैनौं, सबै कुसुन्डालाई सरकारले समान व्यवहार गर्नुपर्छ ।‘
सुमित्राका जेठा छोरा चेतनारायण विदेशमा छन् । उनी दोस्रोपटक ऋण गरेर विदेश गएका हुन् । रक्सी पारेर दैनिक जीविकोपार्जन गर्ने कुसुन्डाको नाममा चार लाख ऋण छ । ‘समय समयमा साहु आउँछन्, केही छैन, के गर्ने, कोठा हेर्छन्, फर्कन्छन्,’ चेतनारायणकी श्रीमतीले भनिन् ।
रक्सी बेचेको पैसाले चन्द्रज्योति प्राथमिक विद्यालयमा कक्षा चार र तीनमा छोराछोरी पढाएको र विद्यालयले उनीहरूलाई कुनै सहुलियत नदिएको उनले बताइन् । विदेश गएका श्रीमानले अहिलेसम्म खर्च र खबर नपठाएको उनको भनाइ थियो ।
६९ वर्षको उमेरसम्म चार ठाउँका जंगलमा बसाइँ सरेको र जुन ठाउँमा गए पनि वन तरुल, वन कुखुरो, गिठ्ठा-भ्याकुर खाएर बसेको सुमित्राले बताइन् ।
लोपोन्मुख जातिका रूपमा रहेको यो परिवार यहाँ एक मात्र रहेको जिल्ला विकास समितिले जनाएको छ । स्थानीय विकास अधिकारी राजकुमार श्रेष्ठले भने, ‘यस जातिलाई मासिक पाँच सयभन्दा अरू कुनै सुविधाको निर्देशन छैन ।‘
Leave a Reply