स्रोत: अनलाईन खबर
–बिष्णु तारुके
रसुवा। जैविक विविधताले समेत महत्वपूर्ण मानिएको रसुवा जिल्लाको लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रका वनमा १२ प्रजातिका लालीगुराँस फेला परेको छ । अहिले लालीगुराँस फूलेर यहाँको जङ्गल राताम्य बनेका छन् । जिल्लाको दक्षिणी मध्यपहाडीदेखि उत्तरी हिमाली क्षेत्रसम्म विभिन्न रङका फूलहरू फुलेर पासाङल्यामु सडक मार्गमा पर्ने ग्राङ, राम्चे, ठाडे, सदरमुकाम धुन्चे, स्याफ्रुलगायतका ठाउँमा गाडीबाटै राताम्य लालीगुराँसले काठमाडौँ जाँदा होस् वा स्याफ्रु धुन्चे आउँदा ठाउँ ठाउँमा यात्रुहरूलाई स्वागत गरिरहेको भानहुन्छ । यहाँका वनमा रातो, सेतो, फिक्का, गुलावी, फिक्का रातोलगायतका एक दर्जन रङका लालीगुराँस लटरम्मै फूलेको देख्न सकिन्छ । यहाँका फूलको व्यापार नभए तापनि परम्परागतरूपमा विभिन्न स्थानमा गुराँस फूलका पत्रहरू जडीबुटी औषधिको रूपमा निर्यात गरिन्छ । भने फूललाई स्थानीय गाउँमा घरेलु औषधिको रूपमा प्रयोग गर्ने गरिन्छ ।
जिल्लाका विभिन्न स्थान विद्यालय सदरमुकाम सभा समारोह, स्वागत, बिदाइजस्ता थुप्रै कार्यक्रमका लागी तथा शृङ्गारका लागी पनि फूलको अति आवश्यक देखिन्छ । दक्षिणको कालिकास्थान, निगलिनी पाखावनभरिदेखि राम्चे, धुन्चे, स्याफ्रुबेसी गोल्जुङ, विद्धिम, टिमुरे वनपाखा होस् वा लाङटाङ, गोसाइँकुण्ड, डाँडागाउँ यार्सा सरमथलिका वनजंगल जताततै ढकमक्क गमक्क फूलेर लालीगुराँस रङ्गीचङ्गी बनाएको छ । जसले जोकसैलाई पनि मोहीत पारेको हुन्छ, यहाँ आउने विदेशी तथा स्वदेशी पर्यटकहरू पनि गुराँसका थुँगाले रात्ताम्यै बनेको वनको फोटो खिच्न व्यस्त देखिन्छन् । रसुवाका ६० प्रतिशतभन्दा बढी वनमा यसरी लालीगुराँस फुलेको पाइन्छ, अझ नयाँ कुरा त यहाँ दक्षिणी क्षेत्रमा चाँढै माघको पहिलो सातातिर लालीगुराँस फूलेर चैतसम्म सजिइरहेको हुन्छ भने उत्तरी भेगका वनमा माघदेखि फूल्न सुरु भई असारसम्म ताजै रहन्छ । लाङटाङ र गोसाइँकुण्डको आसपासमा जेठ, असार -दशहरा) मा लाग्ने गोसाइँकुण्ड मेलाका समयमा एक प्रकारको सेतो र विभिन्न मिश्रित रङका गुराँस फूलेर यात्रीहरूलाई मोहित बनाउँछ ।
जिल्लावासीहरूको अमूल्य सिर्जना जस्तै लाग्ने लालीगुराँस भोट, तिब्बत संस्कृतिमा हुर्किएको यहाँका बासिन्दाबीच अन्योन्याश्रित सम्बन्ध रहेको आभास हुने तिब्बेतियन मूलका लामा वाङदा लामा बताउँछन् ।
नेपालमा पाइने मध्ये १० प्रजाति र रसुवामा मात्र पाइने रैथाने दुई जाति गरी जम्मा १२ प्रजातिका लालीगुराँस यहाँ पाइन्छ लाङटाङ राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृतको भनाइमा कतिपय दुर्लभ जातका गुराँसहरू लोपहुन लागेकोले यसको संरक्षण गर्नको लागि सबैको प्रयासको खाँचो छ ।
स्थानीय बालबालिकाहरू एक अङ्गालो फूललाई १० रुपियाँमा बेच्छन् । कतिपय यात्रीहरू लालीगुराँससँग धित मारेर खेल्छन् भने रमेर तस्बिर खिच्छन् । फूल टिप्न टाढा-टाढा देखि गाडी लिएर मानिसहरू आउने गर्छन् । फूलले आन्तरिक तथा बाहृय पर्यटकहरूको मन नै प्रफुल्ल बनाउने गर्दछन् ।
फूल टिप्ने मात्र होइन, यहाँका वनमा हाँगा भाँचेर छाड्ने, प्रायः गरेर विश्वकर्मा जातिले भाँडा तथा हतियार बनाउन कोइला (गोल) पनि गुराँसकै बनाउने कारण लालीगुराँस मासिने त्रास पनि बढेको छ । लालीगुराँस लगायत अन्य थुप्रै प्रजातिका वनस्पत्ति संरक्षण गर्न जिल्लावासी कस्सिएका छन् । मध्यवर्ती क्षेत्रका गाँउमा अहिले जङ्गलमा गोल पोल्न स्थानीयवासीले प्रतिबन्ध नैं लगाएका छन् । हिमाली जिल्लाको चिनोका रूपमा माघको अन्तिम सातादेखि फुल्न सुरु गरी वैशाखसम्म रहने गुराँसको फूल लगायत वनस्पती संरक्षण गर्न लागि पर्न ढिलाइ गर्ननहुने लहरेपौवाका समाजसेवी बलराम घिमिरे बताउनुहुन्छ । विशेषगरी माछाको काँडा अर्थात् खानेकुरा घाँटीमा अड्किएमा लालीगुराँसको फूलको पत्र चपाएर निल्नाले अडकिएको खाद्यवस्तु स्वतः पेटमा पुग्ने जनविश्वास गाउँगाउँमा व्याप्त छ । लालीगुराँसमा बहुऔषधीय गुण हुने कुरा धैबुङ्ग-४ का आयुर्वेदका पारखी नीलकण्ठ न्यौपाने बताउनुहुन्छ ।
“वि.सं.२०१९” सालमा ‘राष्ट्रिय फूल’ को रूपमा लालीगुराँसले मान्यता पाएको थियो । जन्डिस, आउँ, खोकी, कलेजो सुन्निएको, मुखको गन्ध हटाउनसमेत औषधि हुने लालीगुराँस वातावरणीय तथा पर्यटकीय दृष्टिले समेत महत्वपूर्ण मानिएको छ । अहिलेदेखि चैत-वैशाखसम्म यहाँका जङ्गलहरू बेहुली झैँ सजिएर रहिरहने कुरा स्याफ्रुका दावा तामाङ बताउँछन् ।
वनभरि फुलेका लालीगुराँसका फूल यहाँको प्राकृतिक वरदान मात्र होइन सुकाएर फूलको पत्र जडीबुटीका रूपमा व्यापार गरी आयआर्जन गर्न सकिन्छ भने मीठो जुस र वाइनसमेत बनाएर बेच्न सकिन्छ । धुन्चेका बाबुराम श्रेष्ठले लालीगुराँसबाट जिल्लामै पहिलो पटक लालीगुराँसका मीठो जुस बनाएर बजारमा ल्याएका छन् । यसरी हेर्दा लालीगुराँस त्यहाँका बासिन्दाको लागि अन्य आर्जनको राम्रो माध्यम समेत बन्न सकेको देखिन्छ ।
ढकमक्क फुलेको लालीगुराँस देख्दा कसको पो मन तानिँदैन होला, अझ भन्ने हो भने त टपक्क टिपेर हातमा लिन मन लागिहाल्छ । अझ लालीगुराँसबाट बनेको जुस (सर्वत) स्वाद एकपटक चाख्ने जो कोही पनि अवश्य लोभिने छ ।
स्थानीय स्तरमा रहेका यस्ता स्रोतहरूको सदुपयोग गरेर सायद नेपालमै पहिलोपटक विभिन्न जडीबुटीको जुस बनाए धुन्चेका बाबुराम श्रेष्ठले । उनले यसरी हिमाली डालेचुक गुराँसको मीठो जुस तयार पारेर बजारमा ल्याएर नयाँ कामको सुरुवात गरेभन्दा फरक नपर्ला ।
Leave a Reply