स्रोत: कान्तिपुर
–अतुल मिश्र
विराटनगर। घर, कार्यालय वा कुनै भवन सफा गर्नु परे के गर्नुहुन्छ ? पक्कै पनि आफैंले कुचो समाउनुहुन्छ वा कसैलाई लगाउनुहुन्छ । तर कोसी अञ्चल अस्पताल सफा पार्न भगवानको शरण लिइएको छ ।
किन यस्तो ?
‘कर्मचारीले नसकेपछि भगवान् गुहारेका हौं,’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चतुर्भुजप्रसाद उपाध्यायले भने, ‘कुनै उपाय काम नलागेपछि हार खाएर भगवानको शरण लिइएका हौं ।‘
करिब ४ सय ५० शय्याको अस्पतालको भर्याङका दुवैतिर र बरन्डाका भित्तामा पान, पराग, खैनी खाएर थुक्नेहरूका कारण अस्पताल प्रशासन हैरान थियो । तर एक वर्ष अघिदेखि बहिरंग विभाग जाने बाटाको दुवैतर्फ भगवानका तस्बिरहरू राखिएका छन् । तस्बिर राखेपछि थुक्नेहरूले संयम अपनाउन थालेको प्रसूति वार्डकी इन्चार्ज कमला राईले बताइन् । उनका अनुसार अस्पतालभित्र थुक्ने सम्भावित स्थलको पहिचान गरी भगवानको तस्बिर राखिएको छ । ‘राम्रो प्रभाव देखिएको छ, हेरौं कति समयसम्म चल्ने हो,’ उपाध्यायले भने ।
पान खाएकालाई अस्पताल हाताभित्र पस्नै नदिनसमेत गार्डहरूलाई उर्दी दिइएको थियो । तर यो उपायसमेत असफल भयो ।
त्यसो त केही वर्षअघि पनि भगवानका तस्बिर राखेर यो उपाय नअपनाइएको होइन । ‘तर त्यतिबेला तस्बिरहरू समेत च्यातेर हैरान पारे,’ उनले भने । यो पल्ट भगवानका तस्बिरहरू बदलेको उल्लेख गर्दै उपाध्यायले केही महिनादेखि थुक्न छाडिएकाले अस्पताल सफा रहेको बताए । ‘अस्पताललाई भगवान्ले सफा राख्न सघाउँदै छन्,’ उनले भने ।
Leave a Reply