स्रोत: कान्तिपुर
-फूलमान वल
पोखरा। अन्नपूर्ण पदयात्रामा जाँदै हुनुहुन्छ भने अब तपाईंले लुम्ले गाउँलाई फरक पाउनुहुनेछ । ढुंगाले छाएका सुन्दर घर, दलानको भित्तामा चर्चित देशीविदेशी स्रष्टाहरूको तस्बिर अनि स्थानीय संस्कृतिसहितको प्रेमिल स्वागत ।
आन्तरिक र बाह्य पर्यटक लोभ्याउन शनिबार (चैत १५, २०६५ ?) गाउँलेले नयाँ घोषणा गरेका छन्- कविता गाउँ । नौमती बाजा, भजन, चुड्का, रत्यौली, गुरुङ समुदायको ट्हो त्हे नृत्यसाथ गाउँ परिक्रमा गर्दै स्थानीयले लुम्लेलाई ‘कविता गाउँ‘ मा बदलेका हुन् ।

लुम्ले (स्रोत:canr.msu.edu)
एकैछिनमा पानी पर्ने, एकैछिनमा हुस्सु दौडिने र एकैछिनमा छ्याङ्ग खुल्ने लोभलाग्दो गाउँमा शनिबार बिहानैदेखि गाउँले नयाँ जोसमा थिए । घर, टोल, बस्तीदेखि रूखका हाँगासम्ममा ‘कविता गाउँमा स्वागत छ‘ टाँगिएका थिए, पदयात्रीहरू तिनै तुलमुनिबाट अघि बढ्दै ।
भाङ्ग्रा, इस्टकोट र कछाड लाउँदै एक हुल गुरुङ अघि बढे । ढ्याङ्ग्रो ठोक्दै उनीहरू बागलुङतिर सोझिएको भूपी राजमार्गबाट गाउँतिर उक्ले । बारीका पाटामा आयोजित कविता गाउँ घोषणासभामा उनीहरू स्थानीय गुरुङ नाच ट्हो त्हे देखाउन आतुर थिए ।
पोखरेली गीतकार विनोद गौचनको परिकल्पनालाई गाउँलेले यसरी साकार पारेका हुन् । ‘सांस्कृतिक पर्यटनको योजना हो,’ झाँकीमा हिँडिरहेका बेला विनोदले भने, ‘स्थानीय कला, संस्कृति र साहित्यलाई प्रोत्साहन गर्दै देशविदेशका स्रष्टाहरूको सिर्जना गन्तव्य बनाउने पनि ध्येयले गाउँलेहरू अघि बढेका छन् ।‘
शान्त र सुन्दर प्रकृतिमाझ पुस्तक लेख्न चाहनेले स्रष्टालाई लुम्लेमा लोभ्याउने चाहना पनि गाउँलेको रहेछ । ‘पेइङ गेस्टको अनुभूति लिँदै पुस्तक लेख्नसक्नुहुने छ,’ विनोदले भने, ‘हरेक घर र होटलमा साहित्यकार सम्बन्धी जानकारी सहितको सामग्री पनि राख्ने छौं ।‘
झाँकीको अग्रपंक्तिमा थिए वृद्ध भक्तिलाल देवकोटा । लुम्ले कविता गाउँ समितिका अध्यक्षसमेत रहेका उनी अरूभन्दा निकै खुसी देखिन्थे र झाँकीमा रत्यौली, भजन, असारे, चुड्का गाउने समूहलाई हौस्याउँदै अघि बढिरहेका थिए ।
‘आज गाउँमा यतिका धेरै साहित्यकार आइपुगेका छन्,’ झाँकी बारीका पाटामा पुगेपछि भक्तिलालले माइक समाउँदै भने, ‘देशभरका अरू थुप्रै लेखक साहित्यकार लोभ्याउन र किताब लेख्ने वातावरण मिलाउन हामी तयार छौं ।‘
झाँकीसँगै पोखराबाट आइपुगेका पर्यटनविद् झलक थापा, स्रष्टा सरुभक्त, गायिका हरिदेवी कोइराला र राजधानीका दुई दर्जन कवि पनि थिए । भक्तिलालको घोषणा सुनेपछि स्रष्टाहरूले ताली पिटे, गाउँलेले झ्याली बजाउँदै खुसी व्यक्त गरे ।
‘पर्यटन भनेको प्रकृति र सुन्दर दृश्यमात्रै होइन,’ घोषणासभाका प्रमुख अतिथि बनेका पर्यटनविद् थापाले भने, ‘स्थानीय संस्कृति, कला र साहित्य पनि पर्यटनकै अंग हुन् । त्यसैले लुम्लेवासी सांस्कृतिक पर्यटनतिर अगाडि बढ्दै छन् ।‘
थापा बोलिरहँदा गाउँलेको ध्यान दुई दर्जन दृश्यचित्रतिर तानियो । बारीकै पाटामा विभिन्न चित्रकारले गाउँ घुमेर बनाएका सुन्दर चित्र थिए । काठमाडौंबाट लुम्ले पुगेका चित्रकारहरूले एक साता गाउँ डुलेर सांस्कृतिक र प्राकृतिक सौन्दर्य क्यानभासमा उतारेका थिए । स्थानीयको गीत, कविता र झाँकीसँगै राजेन्द्र थापा, विप्लव ढकाल, ध्रुव मधिकर्मी, धनराज गिरी, आरएम डंगोल, दामोदर पुडासैनी ‘किशोर‘, मनिषा गौचन, गोवर्द्धन पूजा, रमेश पौडेल, भोजराज न्यौपाने, संगीत स्रोता, हरिहर तिमिल्सिना, शिवप्रकाश लगायतले लुम्लेको सौन्दर्यमाथि कविता सुनाए । लुम्लेलाई नयाँ चिनारी दिन जुटेका गाउँले साँझ आठ बजेसम्म बारी पाटामै जमे ।
तस्विर स्रोत: http://www.canr.msu.edu/vanburen/India/images/lumle3.jpg
लुम्ले बजार !