स्रोत: अनलाईन खबर
-विष्णु शर्मा
मुस्ताङ । ‘निजी भ्रमण’ भन्दै पश्चिमा मुलुकका राजदूतहरु धमाधम उपल्लो मुस्ताङतिर लागेका छन्, जसको सूचिमा छ पूर्व राजालाई भेटनु ।
नेपालका लागि अमेरिकी राजदुत न्यान्सी जे पावेल मंगलबार जोमसोम आइपुग्नुभएको छ जसले केही दिनमै पूर्व मुस्ताङी राजा जिग्मे परवल विष्टलाई समेत भेटदै हुनुहुन्छ ।
पावेल मुस्ताङमा दुईसाता रहने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रशासनले भने पावेलको मुस्ताङ भ्रमणलाई नितान्त नीजि र ‘पदयात्राका लागि‘ भएको दावी गरेको छ ।
‘राजदूतज्यूको यो नितान्त नीजि भ्रमण हो, भेटबारे हामीलाई कुनै जानकारी छैन‘ प्रमुख जिल्ला अधिकारी सुन्दरराज अर्यालले अनलाइनखबरसंग भन्नुभयो –‘दुइसाता बस्ने कार्यक्रम छ, अन्नपूर्ण पदमार्गको टे्रकिङ गर्ने भन्ने थाहा पाएका छौं ।‘ राजदूत पावेलले प्रजिअ अर्यालसहितका सरकारी कर्मचारीलाई पनि भेट्नुभएको थियो ।
पावेल बुधबार विहान उपल्लो मुस्ताङ जाने कार्यक्रम छ । उपल्लो मुस्ताङको राजधानी मानिने लोमान्थाङमा रहेका पूर्वमुस्ताङी राजा विष्टलाई प्राचिन दरवारमै भेट्ने बताइए पनि थप खुलाइएको छैन । लोमान्थाङ चीनको स्वशाषित क्षेत्र तिव्व्ात सीमाना नजिक पर्छ ।
चीन र तिव्वतबीच चर्कंदो तनावका बीच अमेरिकी राजदूतको यो भ्रमण हुन लागेको हो । मुस्ताङी राजा विष्टको पुर्खा तिव्वतबाट लोमान्थाङ बसाइसराई गरेको हो । बेइजिङ ओलम्पिकताका प्रशासनले लोमान्थाङ नाकाको सीमाक्षेत्रमा कडाई गरेको थियो ।
माओबादीले भने राजदूत पावेलको भ्रमणलाई लिएर आशंका जनाएको छ । ‘हामीले विभिन्न स्रोतबाट गहिरिएर बुझ्यौं‘ एकीकृत माओबादी मुस्ताङ इन्चार्ज कृष्णप्रसाद शर्माले भन्नुभयो –‘चीन र तिव्वतबीचको मुद्दा तथा प्रधानमन्त्री विदेश भ्रमण भैरहेको बेलामा भएको यो भ्रमणप्रति हामी गम्भिर छौं ।‘ शर्माले भारतीय राजदूत राकेश सुद तथा फ्रेन्च र जर्मनी राजदूत पनि केहीदिनमा उपल्लो मुस्ताङ जाने कार्यक्रमबारे जानकारी पाइएको बताउनुभयो । ‘सबै राजदूतले यसलाई नीजि भ्रमण भनेका छन‘ उहाँले भन्नुभयो । तिब्बत स्वतन्त्र भएपछि अमेरिका र भारतको सहयोगमा मुस्ताङ स्वतन्त्र तिब्बतको पक्षमा हतियारवद्ध आन्दोलन भएकाले यसपटकको भ्रमणलाई पनि त्यसैसँग जोडेर हेर्नुपर्ने माओवादीको भनाई छ ।
यतिवेला १७ सदस्यीय भारतीय सेनापनि मुस्ताङको धौलागिरि बेसक्याम्पमा छ । लेफि्टनेन्ट कर्णेल एमएस चौहान नेतृत्वको सैनिक टोली धौलागिरि हिमाल आरोहणका लागि भन्दै त्यसतर्फ गएको हो । टोलीले अप्रिलको अन्त्य तथा मेको सुरुवातमा आरोहण पूरा गरिसक्ने जनाएको छ ।
Leave a Reply