स्रोत: कान्तिपुर
कहिलेकाहीँ केही खाँदा वा त्यतिकै पनि पेट दुखेर हैरान पार्छ, झाडापखालाले सताउँछ वा रिँगटा लागेजस्तो हुन्छ । यस्तो भए काम छाडी डाक्टरकहाँ दौडिइहाल्नु पर्दैन । अदुवा भान्सामा सजिलै पाइने त्यस्तो औषधि हो जसको प्रयोगले यी पीडाबाट तत्काललाई आराम पाइन्छ ।
अमेरिकाको नेसनल सेन्टर फर कम्प्लिमेन्ट्री एन्ड अल्टरनेटिभ मेडिसिन (एनसीसीएएम) का अनुसार गर्भावस्थाका कारण लाग्ने वाकवाकीमा पनि अदुवाले फइदा पुर्याउँछ । अमेरिकामा बिक्रीवितरण हुने धेरैजसो पचाउने, वाकवाकी रोक्ने तथा चिसो र फ्लुको ‘डायटरी सप्लिमेन्ट्री‘ मा अदुवाकै प्रयोग हुने गरेको छ । शल्यक्रियापछि गतिका कारण र क्यान्सर उपचारमा किमोथेरापी दिँदा हुने वाकवाकी हटाउन यो प्रभावकारी हुन्छ । रुम्याटिक अर्थराइटिस, अस्टियो अर्थराइटिस तथा जोर्नी र मांसपेशीको दुखाइमा पनि अदुवा उपयोग गरिने एनसीसीएएमले जनाएको छ ।
उसका अनुसार किमोथेरापी र शल्यक्रियापछि तथा यात्रामा हुने वाकवाकी अदुवाले पूर्णतः हटाउनेबारे अध्ययनको परिणाम भने मिश्रित देखिएको छ । र्युम्याटिक अर्थराइटिस, अस्टियो अर्थ्राइटिस तथा जोर्नी र मांसपेशीको दुखाइमा अदुवाको प्रभावकारिता अनुसन्धानबाट हालसम्म अस्पष्ट रहेको एनसीसीएएमले उल्लेख गरेको छ ।
आयुर्वेदका अनुसार रुम्याटिक अर्थराइटिस, साइटिका, घाँटी र ढाडको हाडको रोग –सर्भाइकल स्पोन्डाईलाइटिस) मा औषधिका रूपमा अदुवाको प्रयोग प्रभावकारी हुन्छ । भोक नलाग्ने, रुघाखोकी, दम, जीउ दुख्ने, कब्जियत, कान दुख्ने समस्या हटाउनसमेत प्रयोग गरे फरक पर्दैन ।
Leave a Reply