स्रोत: कान्तिपुर
अतुल मिश्र
झन्डै आधा नेपालीमा क्षयरोगको किटाणु भएको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ । केन्द्रका अनुसार दिनहुँ १९ नेपालीले क्षयरोगको कारण ज्यान गुमाउने गरेका छन् ।
शरीरमा रोग विरुद्घको प्रतिरक्षा क्षमता कमजोर भएमा क्षयरोग लाग्ने जोखिम बढी हुन्छ । उपचार नगराएका एक रोगीले बर्सेनि १० देखि १५ लाई संक्रमित गर्ने चिकित्सकहरू बताउँछन् ।
‘नेपालको ४५ प्रतिशत जनसंख्या क्षयरोगको जिवाणुले संक्रमित छन्,’ राष्ट्रिय क्षयरोग केन्द्रकी निर्देशक एवं वरिष्ठ छाती रोग विशेषज्ञ डा. पुष्पा मल्लले भनिन्। ‘यी मध्ये मृत्यु नहोउन्जेलसम्म १० प्रतिशतलाई मात्र क्षयरोग हुन्छ ।‘ तथ्यांकअनुसार नेपालमा बर्सेनी यो रोगले सात हजार सम्मको मृत्यु भइरहेको छ ।
खोकी, ज्वरो, तौलमा कमी, खकारमा रगत, कमजोरी एवं थकान अनुभव गर्नु र छाती दुख्नु क्षयरोगका लक्षण हुन् ।
सरकारी तथ्यांक अनुसार एक दशक यता झन्डै ४ लाख क्षयरोगी उपचारका लागि स्वास्थ्य संस्था आएका थिए । उनीहरूमध्ये डेढ लाखभन्दा बढी सरुवा खालको क्षयरोग थियो । ८८ प्रतिशतको सर्ने क्षयरोग निको भएको डा. मल्लले बताइन् ।
क्षयरोगको परीक्षण र औषधि देशभर निःशुल्क छ । उपचारका लागि नयाँ उपचार पद्घतिअनुसार ६ महिना नियमित औषधि सेवन गर्नुपर्छ । पहिले आठ महिनासम्म नटुटाई औषधि खानु पथ्र्यो ।
केन्द्रका अनुसार रोग निदान र खकार परीक्षणका लागि ४ सय २७ केन्द्र छ । ४ हजारभन्दा बढी स्वास्थ्य संस्थाहरूबाट निःशुल्क उपचार उपलब्ध हुँदै आएको छ ।
विश्वमा प्रत्येक सेकेन्ड एक जना क्षयरोगले संक्रमित हुने गरेका विश्व स्वास्थ्य संगठन –डब्लूएचओ) ले जनाएको छ । डब्लूएचओको अनुसार विश्वको एकतिहाइ जनसंख्या यो रोगको किटाणुले संक्रमित छ ।
Leave a Reply