स्रोत: कान्तिपुर
दिनेश वाग्ले/योगेश खतिवडा
संसारकै सस्तो भनी भारतमा बनाइएको फुच्चे कारको बिक्री प्रक्रिया दुई सातापछि सुरु हुने भएको छ । टाटा मोटर्सका प्रमुख रतन टाटाले सोमबार मुम्बईमा गरेको घोषणाअनुसार चैत २६ देखि ‘नानो‘ को बुकिङ खुला हुनेछ ।
गाडी किन्न नसक्दा मोटरसाइकलमा परिवारै बोकेर हिँड्ने लाखौं भारतीयलाई लक्षित गर्दै बनाइएको नानोको मूल्य एक लाख भारु तोकिएको छ । तर ‘जनताको कार‘ उपमा दिइएको नानो तत्कालै सबैले पाउने छैनन् । तीन हजार भारु तिरेर आउँदो वैशाख १२ सम्ममा बुकिङ गर्नेमध्ये दामासाहीबाट छानिएका एक लाख जनालाई पहिलो लटमा बेचिने छ । नानो नेपाली बजारमा पनि तुरुन्तै उपलब्ध हुने छैन । उपलब्ध भएपछि पनि भारतमा जस्तो सस्तोमा मिल्ने छैन । टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका किशोर ढुंगानाका अनुसार टाटाले अन्तर्राष्ट्रिय बजारमा बेच्न थालेपछि नेपालमा पनि नानो उपलब्ध हुनेछ र त्यसको मूल्य साढे चार लाखजति पर्न सक्छ । कारण, सरकारी कर ।
भन्सार विभागका महानिर्देशक बोधराज निरौलाका अनुसार भारतबाट आयात गरिने कारमा १ सय ७९ प्रतिशत शुल्क लाग्छ । नेपाली बजारमा उपलब्ध सबभन्दा सस्तो कार मारुतीको ‘एट हन्ड्रेड‘ हो, जसलाई १० लाख पर्छ ।
तीन मोडलमा उपलब्ध नानोमा चार यात्रु सजिलोसँग बस्न सक्छन् । ३.१ मिटर लामो, १.५ मिटर चौडा र १.६ मिटर अग्लो गाडी व्यस्त सहरी बाटो र साँघुरा ग्रामीण सडकमा सहजै हिँड्न सक्ने कम्पनीले बताएको छ ।
केही वर्षअघि रतन टाटाले एक लाख भारुको कारको कुरा गर्दा अपत्यारिला आँखाले हेरेको विश्व गाडी उद्योगले अहिले नानोको आगमनलाई हर्षोल्लासपूर्वक स्वागत गरेको छ । हालैका दिनमा नानोकै कारण टाटा मोटर्सको सेयर मूल्य बढेको छ ।
नानोलाई विशेषगरी युरोपले चासोपूर्वक हेरेको छ । सोमबार मुम्बईको ताजमहल होटलमा आयोजित खचाखच पत्रकार सम्मेलनमा एक जर्मन पत्रकारले रतन टाटालाई प्रश्न गरे, ‘म काम गर्ने संस्था डोइच वेलेले मलाई रातारात यहाँ पठायो, नानो सार्वजनिक भएको समाचार संकलन गर्न । यसैबाट तपाईं थाहा पाउनु हुन्छ, युरोपमा नानोबारे कत्ति रुचि छ । तपाईं यो कार उता कहिले उपलब्ध गराउनु हुन्छ ?’
‘सन् २०११ मा,’ टाटाले जवाफ दिए । नेपालमा चाहिँ ? आशा गरौं, त्यसभन्दा पहिल्यै !
Leave a Reply