स्रोत: कान्तिपुर
फूलमान वल
जमाना प्रविधिकै भयो । आइपोड, एमपी थ्री या पेनड्राइभ- मध्ये केही छ भने पुस्तक पढिरहनुपर्दैन । आनन्दले एयरफोन लाउनुस् र काम गर्दै पुस्तक
सुन्नुस् । बीपी कोइरालाको ‘आत्मवृत्तान्त‘ अडियो संस्करणपछि डायमन्ड शमशेर राणाको चर्चित कृति ‘सेतो बाघ‘ को सुन्ने रूप बजारमा आएको छ ।
‘अबका मानिसलाई ठूल्ठूला ठेली पढिरहने फुर्सद नहुन सक्छ,’ सुन्ने पुस्तक सार्वजनिक गर्न लन्डनदेखि आइपुगेका रेडियोकर्मी खगेन्द्र नेपालीले भने, ‘यस्तोमा आइपोड र पेनड्राइभमा भरेको पुस्तक सुन्दै काम गर्दाको आनन्द बेग्लै हुन सक्छ ।‘ जगिङ जाँदा, परिवारसँगै होलिडे मनाउँदादेखि भान्साको काम गर्दासमेत सुन्ने पुस्तक उपयोगी हुने बताउँदै उनले पश्चिमको अनुभव सुनाए, ‘जिम जाँदासमेत आइपोडमा पुस्तक सुन्ने जमात देखेको छु ।‘
लन्डनस्थित श्रव्यदृश्य उत्पादक कम्पनी वेभ्स ईटीसीले दोस्रो अडियो बुकका रूपमा ऐतिहासिक उपन्यास ‘सेतो बाघ‘ चुनेको हो । ‘कुनै समय म यो उपन्यास लुकीछिपी बोक्थें, प्रतिबन्धित भएकाले ‘सेतो बाघ‘ भन्नेबित्तिकै सबै तर्सिन्थे,’ उनले यो ‘सेतो बाघ‘ लाई अडियो बुकका रूपमा छान्नुको कारण खुलाए, ‘यस्तो ऐतिहासिक किताब नयाँ पुस्ताले प्रविधिको स्वादसँगै ग्रहण गरून् भन्ने ध्येय हो ।‘
सोल्टी क्राउन प्लाजाको मेघ मल्हार हलमा ९१ वर्षे उपन्यासकारकै हातबाट पुस्तक मंगलबार सार्वजनिक गरियो । अडियो अन गरिरहँदा राणाका हात छिटोछिटो चलिरहेका थिए र अनुहार उज्यालो । ‘जेलमा लेखिएको पुस्तकको नयाँ अवतारले निकै खुसी छु,’ उनले भने, ‘जीवनभरकै उपलब्धि पाएजस्तो ।‘
सेनामा मेजर रहँदा २००५ मै विद्रोह गरी प्रजातन्त्रका पक्षमा लागेका राणालाई पञ्चायती व्यवस्थाले २०१७ मा जेल हाल्यो । ६ वर्ष लामो जेलबसाइमा राणाकालीन ऐतिहासिक तथ्य समातेर लेखिएको कृति साझा प्रकाशनले २०२५ मा छापेको थियो ।
‘यो किताबले गर्दा म पनि झन्डै जेल परेको,’ साहित्यकार कमलमणि दीक्ष्ाितले उक्त उपन्यास छापिँदाको घटना सुनाए, ‘त्यतिबेला साझाको अध्यक्ष म थिएँ । पछि निकै समस्या भयो ।‘
साझाका तत्कालीन महाप्रबन्धक नरेन्द्रविक्रम पन्त ‘सेतो बाघ‘ को पहिलो पाठक भएको उल्लेख गर्दै दीक्षितले सम्झे, ‘पन्तजीले पुस्तकको भूमिका पनि मैले नै लेख्नुपर्छ भन्नुभयो । पछि भूमिकाका शब्दशब्दमाथि अनुसन्धान भएछ । धन्य, संयोगले वकिल शब्द लेखिएकाले मात्रै बचेछु ।‘
उपन्यासमा राणाकालीन राजनीतिक चालबाजी, पारिवारिक षड्यन्त्र, शक्तिको छिनाझपटी देखि दरबारभित्रका रहस्य छन् ।
‘मेरै बाउबाजेका कथा भएकाले मलाई जेलमा लेख्न सजिलो भो,’ राणाले सम्झे, ‘अहिले यसको नयाँ अवतार आयो । जस र आर्थिक लाभ दुवै मिल्ने भयो ।‘
यस्तो भएपछि उपन्यास किनेर पढ्लान त पाठकले ? अटोग्राफ लिन धुइरिएका फ्यानले घेरिएका राणालाई सोधियो । ‘घाम ताप्दा शरीरलाई फाइदा गरे पनि अनुहारलाई त कालो बनाउँछ नि,’ उनले गम्भीर ठट्टा गरे, ‘यसको पनि सकारात्मक र नकारात्मक फाइदा दुवै छ, प्रविधिलाई रोक्न सकिन्न ।‘
यहीबेला अटोग्राफ लिने पंक्तिमा थिइन् गृहिणी कविता राणा । पेन्टिङ समेत गर्ने उनी धेरै अघिदेखि ‘सेतो बाघ‘ पढ्न चाहिरहेकी रहिछन् । ‘अब गज्ज्ाब भो,’ उनले भनिन्, ‘सजिलो र इन्ट्रेस्टिङ पनि ।‘
अडियो संस्करणमा स्वर तीन दशकजति बीबीसी नेपाली सेवामा संलग्न नेपालीकै छ ।
‘यसको म अर्को ठूलो उपलब्धि पनि देखिरहेको छु,’ लेखक खगेन्द्र संग्रौलाले भने, ‘धेरै नेपाली निरक्षर छन् । त्यो विशाल समूहमा अब इतिहासको साँचो कथा पुग्ने छ ।‘ ६ सीडीको अडियो संस्करण बेलायतस्थित नेपाली साहित्य परिषद्, भण्डारी बुक्स र सूर्य नेपाल प्रालिको सहयोगमा ल्याइएको हो ।
Leave a Reply