स्रोत: कान्तिपुर
अतुल मिश्र
अन्तरिक्षमा पृथ्वीजस्तै अर्को ग्रह पनि छ ? वैज्ञनिकहरूको अनुमान छ, पक्कै पनि हुनुपर्छ । यथार्थ पत्ता लगाउन अमेरिकी अन्तरिक्ष संस्था -नासा) ले शुक्रबार राति मानवरहित एक यानलाई ग्रह खोज्न अन्तरिक्षमा पठाएको छ ।
क्यालिफोर्निया, पासाडेनास्थित जेट प्रोपल्सन ल्यावोरेट्री -जेपीएल) द्वारा शुक्रबारै जारी विज्ञप्तिअनुसार ‘केप्लर‘ नाम दिइएको यो अन्तरिक्षयान ‘अर्को आकाश गंगाका पृथ्वीहरू‘ को खोजीमा निस्केको हो । यानले हामी बसेको पृथ्वीजस्तै ग्रह अन्त पनि छ कि भन्ने जिज्ञासाको जवाफ पत्ता लगाउन पहल गर्ने विज्ञप्तिमा जनाइएको छ । पृथ्वीबाहिर जीवनको अस्तित्व पत्ता लगाउनु यो यानको उद्देश्य हो ।
नेपाली समयअनुसार शनिबार बिहान केप्लर सवा आठ बजे अन्तरिक्षमा पसेको छ । यो यान अब तीन वर्षसम्म पृथ्वी बाहिरै रहने छ । ‘अरू पृथ्वी खोज्ने‘ यो अभियानमा साठी करोड अमेरिकी डलर खर्च हुनेछ । केप्लरले सूर्यलाई चक्कर लगाउने छ । त्यस क्रममा दूरबिनलाई अन्तरिक्षको यस्तो ठाउँमा केन्दि्रत गराइनेछ जहाँ एक लाखभन्दा बढी पृथ्वीजस्तै ग्रह भएको अनुमान छ ।
नासाका संयुक्त प्रबन्धक डा. एडवर्ड विलरलाई उद्धृत गर्दै जेपीएलले विज्ञप्तिमा भनेको छ, ‘यो वैज्ञानिक मात्र नभई ऐतिहासिक अभियान हो । अभियान सफल भए मानिसजस्ता जीवनहरू हामी बसेको पृथ्वीमा मात्रै हो वा अन्त पनि भन्ने प्रश्नको जवाफ जुट्नेछ ।‘ अन्तरिक्षमा दूरबिनसहितको शक्तिशाली क्यामेरा जडान गरी मानवरहित यान पठाइएको यो पहिलो हो । ‘बृहस्पतिजस्तो ठूलो आकारको ग्रहलाई पनि सूर्यको अघिल्तिरबाट जाँदा पहिचान गर्न निकै मुस्किल छ । किनभने कारको हेडलाइट अघिल्तिर लामखुट्टे जत्रा कीरा जाँदाजस्तै त्यतिबेला यो निकै सानो आकारको देखिन्छ,’ यो अभियान जटिलताबारे उल्लेख गर्दै जेम्सले भनेका छन् ।
Leave a Reply